महिला राष्ट्रिय लिगः आर्मीको सहज जित

२ फाल्गुन २०७७, आईतवार १७:११


काठमाडौं, फागुन २ । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६–१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो ।

एक तर्फी जस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् । यस्तै चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् ।

आइतबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा आर्मीका लागि रश्मीले १० औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको तीन मिनेटमा विमलाले गोल थप्दा आर्मीले ३–० को अग्रता लिन सफल भयो । पहिलो हाफको इन्जुरी चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै आर्मीको अन्तर घटाउने प्रयास गरिन् ।

पहिलो हाफमा लिएको अग्रतालाई आर्मीले दोस्रो हाफमा कायम राख्दै थप तीन गोल गर्न सफल भयो । ५० औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पुरा गर्दा ५६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५–१ को अग्रता बनायो । ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई ६–१ को जित निश्चित गरिन् ।

जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी शीर्ष स्थानको एपीएफ भन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेल एपीएफ र नेपाल पुलिस तथा दोस्रो खेल वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.