शब्दको सिकायत

१० माघ २०७७, शनिबार ०८:३४

के हाम्रो अस्तित्व छैन?
के हाम्रो इज्जत छैन?
सदियौँदेखि हामी तिम्रा लागि जतिबेला भन्यो त्यतिबेला
जहाँ भन्यो त्यहीँ
उपस्थित भयौँ ।
तिम्रा ईश्वरले हामीलाई त्यहाँ प्रकाश होस् भने
त्यहाँ प्रकाश आयो
उज्यालोसँग अँध्यारो र दिनसँग रात छुट्टियो
मलाई खुसी लाग्थ्यो जतिबेला तिमीले मलाई
राम्रो काममा प्रयोग गर्थ्यौ
मप्रति उत्तरदायी र जिम्मेवार हुन्थ्यौ
त्यही भएर गर्वका साथ
तिम्रा मुखारविन्दबाट निक्लिन मन लाग्थ्यो
आजभोलि म बिरामी परेको छु
न मेरो कुनै मूल्य छ
न मेरो प्रयोग कुनै ठोस लक्ष्यमा छ
मेरो त्यो तागत, मेरो त्यो शक्ति
तिमीले आफ्नो स्वार्थमा प्रयोग गर्नाले
म हरेक दिन स्खलित हुँदै जाँदैछु
कुनै लक्ष्यविहीन पागलझैँ बरबराई रहेछु-
मेरो सम्मान गरिदेऊ !

आजभोलि म आफूलाई टिकटकमा भेट्छु
कि त ट्वीटरमा,
त्यहाँ हुन्छ लुटिएको मेरो इज्जत
गाउँकै मुखियाले गरेको हुन्छ मेरो बलात्कार
अनि अरू हेर्छन् मलाई
सुन्छन् मलाई
मूकदर्शक बनेर
र त्यहाँ उठेको हुन्छ
हाँसोको फोहोरा हा हा हा••••
एउटाले भन्छ, ‘क्या गजब दियो, साथीले!’
अर्कोले मन परेर सेयर गरेको हुन्छ।
मेरो इज्जत हरेक सोसल मिडियामा लुटिएको हुन्छ।
मलाई प्रयोग गरेर
आफूलाई साँचो र सही देखाउन खोजिरहेका हुन्छन्
उनीहरूलाई थाहा हुन्न-
आफैँमाथि बान्ता गरिरहेछन् उनीहरू ।
ठस्ठसी गन्हाएका हुन्छन् उनीहरू
तर अर्कोलाई फोहोरी देखिरहेका हुन्छन्।

कोही हामीलाई प्रयोग गरेर हँसाइरहेका हुन्छन्
कोही हामीलाई प्रयोग गरेर उखानतुक्का सुनाइरहेका हुन्छन्
कोही हामीलाई प्रयोग गरेर भावनाको खेती गरिरहेका हुन्छन्
कोही हामीलाई प्रयोग गरेर मार्छु र मर्छु भनिरहेका हुन्छन् ।

हामी धेरै माथि छौँ उनीहरूभन्दा,
हामी मध्येको सबैभन्दा तुच्छ र फोहोरीभन्दा
पनि फोहोरी छन् तिनीहरू जसले हामीलाई
प्रयोग गरेर वर्षौंदेखि
आफूलाई लायक बनाउन खोजिरहेछन्।

कृपया,
भनिदेऊ ती नालायकहरूलाई –
हामी तिनीहरूजस्तो सस्तो छैनौँ।
हामी हाम्रो शब्दकोशमा गहन अर्थ बोकेर बसेका छौँ
हाम्रो रक्षा गर्न नजान्ने ती पातकीहरूलाई
कुनै अधिकार छैन
हामीहरूलाई
उनीहरूको मुखसम्म ल्याउने।

Tulasi Acharya Archives

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.